म अमेरिकामा करिब ६ महीना रहंदा प्रातः समयमा उठी साना वालकहरुलाई गीतावाचन गर्न सिकाउथे। अहिले हामीले उपयोग गर्ने गरेको जुम प्रविधिको माध्यमबाट। पछि विस्तारै केही प्रौढ व्यक्तिहरू पनि त्यसमा जोडिनु भयो।यसो त मैले गीताजीका केही श्लोकहरू वालक कालमा पनि विद्यालयमा जानुपूर्व सिकेको थिएं, तर त्यो वेलाको उच्चारण वैदिक उच्चारण नभइ सामान्य खालको थियो। म अध्यात्ममा आस्था राख्ने एक सामान्य नेपाली हुं र मलाई संस्कृत भाषाका केही नीति श्लोकको वाचन गर्न त्यति बेलादेखि नै मन पर्थ्यो। पछि कोरोनाको समयमा मेरो गुणराज दाजु संग परिचय भयो र उहांले मलाई नेपाल फर्के पछि गीता परिवारद्वारा संचालित गीता संथावर्ग अन्तर्गत गीताजीको अनुपठन कक्षामा जोडिन प्रोत्साहित गरेकोले म जुन २०२३ को तह एक को समुहमा जोडिए र क्रमश दुई, तीन र चार तहका सबै कक्षाहरूमा नियमित रुपमा उपस्थित भई गीताजीका सबै अध्यायहरू पुरा गरें। शुरुका दिनहरूमा प्रचारक र व्याकरण उल्था गर्ने कार्यमा पनि केही महीना सेवामा लागियो। त्यस्तै गीता परिवार द्वारा संचालित जिज्ञासु,पाठक, पथिकका परीक्षाहरू सर्वोत्तम अंकका साथ उत्तिर्ण गरी अब गीताव्रतीको तयारीमा छु। करिब १४ महिनाको यो अवधिमा मैले तह १, तह २, तह तीनका कक्षाहरू प्रमुख प्रशिक्षकको रुपमापुरा गरी हाल तह तीनको १ र तह चारको १ गरी दैनिक दुई कक्षाहरूमा ट्रेनरको सेवा दिदैंछु। योबाहेक पथिक सम्मका परीक्षाहरूमा परीक्षक भई सेवा दिदैं छु।
नेपाली साधकहरूलाई भाषामा सहजताहोस् भनी व्याकरणका तह २ तह ३का कक्षाहरू पनि टेनरको रुपमा चलाउंदै आएको छु। द्रोण तालीममा प्रवर्तकको सेवा पनि नेपाली भाषाका साधक लाई आवश्यक परेको समयमा दिने गरेको छु। मलाई बिविध सेवा दिंदा छुट्टै किसिमको अनुभूति हुन्छ। अन्तर्मनमा नै विशेष खुशी पैदा हुन्छ। म गीता पारायण र गीता परिवारद्वारा संचालित महत्वपूर्ण सबै जसो महोत्सवमा भाग लिन प्रयत्नशील रहन्छु।
मैले जिज्ञासुको परीक्षा दिंदा परीक्षक ले तीन चार पटक परीक्षा निषेध गरिदिन्छु भन्नुभयो। उहां एकजना दिदी हुनुहुन्थ्यो।मैंले त्यस्तो नियम विपरित हुने क्रियाकलाप केही पनि गरेको थिइन। मलाई अलि नरमाइलो लाग्यो। तर म चुपचाप सोधेका श्लोकहरूको वाचन गर्दै गएं। कर्म गर, फलको आशा नगर भन्ने उपदेशको याद आयो। पछि नतीजा राम्रो नै आयो। यो मेरो गीता परिवारमा साधक हुंदाको अचम्मको अनुभव रह्यो।पछि म आंफैं परीक्षक हुंदा किन यस्तो हुंदो रहेछ भन्ने अलि अलि बुझें।
पेशाले म एक इन्जिनियर। फेरी गीताजीमा किन यस्तो रुची? पटक पटक प्रश्न आउछ। मैले गीताजीको पठन अनुशीलन गर्न लागेको करिब पाच वर्ष चल्दैछ। म नित्य दैनिक २ घन्टा वाचनमा लाग्छु। प्रत्येक पटकको वाचनमा केही नयां कुराको अनुभूति हुन्छ। त्यसैले गीताजीको कक्षामा मलाई उत्साह बढेर आउछ। अझ प्रातः कालको समयको अनुपठनमा त वेग्लै सकारात्मकता तथा दिन चर्यामा पर्ने त्यसको प्रभाव अतुलनीय छ।
गीता परिवार द्वारा संचालित गीताजीका कक्षाहरूमा एकरूपता, नियमहरूको पूर्ण परिपालना, स्तरियता र ट्रेनरको चयन प्रकृया सारै राम्रो छ। यहांजस्तो सेवीहरूमा रहेको सेवा भाव, सहयोगी भावना अन्त कतै पनि मिल्दैन। परम पूज्य स्वामी श्री गूरुगोविन्ददेव गिरीज्यूको दीर्घ शोच र परिकल्पना को कारण एवं यस पुनित कार्यमा अहोरात्र खटिने सेवीहरूको सेवा भावको कारणले नै यो सबै संभव भएको हो भन्ने मलाई लाग्छ। म विशेष गरेर प्रशासन विभाग अन्तरगत रहेकोले त्यसको सेवा स्तरको अलि अलि अनुभव रह्यो। अरू पनि धेरै विभागहरूको कार्य प्रभावकारिता पनि पक्कै राम्रो छ भन्ने लाग्छ। आइटि विभागले त एक वर्षमा निकै अगि बढेको पाइएकोछ। पोर्टल सिस्टमको शुरुआतबाट धेरै सहजता भएकोछ।
प्रत्येक शनीवार र आइतवार चल्नेविवेचन सत्र अति नै फलदायी छन्। श्लोकको सुद्ध उच्चारणका साथ भाव बुझ्न विवेचन सत्र ले सहयोग गर्दछ।
ई.देवशर्मा पौडेल
काठमान्डू, नेपाल